• २०८३ असार १७
  • 2026 July 01, Wednesday

नयाँ समीकरणबाट बनेको सरकारले केही गर्न सक्दैन् : सांसद पन्त

काठमाडौं । राष्ट्रिय सभा सदस्य कमला पन्तले राष्ट्रिय सभा अध्यक्षमा नयाँ सत्ता समीकरणको सरकारले महिलालाई अगाडि सारेको भए कांग्रेसले उम्मेदवार नउठाउने बताएकी छन् ।

उनले सभाको अभिभावक (अध्यक्ष) आफूहरुले महिला नै खोजेको उल्लेख गर्दै राजनीतिक दलले महिलालाई पहिलो भन्दा दोस्रो दर्जामा थन्क्याउने प्रवृतिको विरोध जनाइन् ।

नेपालको राजनीतिमा प्रमुख समस्या सत्तामा महिलालाई राजनीतिक दलले पहिलो दर्जामा स्वीकार्न नचाहने गरेको भनाई पन्तको छ ।

राष्ट्रिय सभाकी उपाध्यक्ष अर्याललाई नै अध्यक्षको लागि गठबन्धन दलले अगाडि सारेको भएका कांग्रेसले त्यसलाई स्वीकार्ने विस्वास व्यक्त गरेकी पन्तले भनिन्, ‘राष्ट्रिय सभा अध्यक्षमा महिलाको बारेमा सहमती खोज्न गठबन्धन आएको भए हामी सहमत हुन सक्थ्यौं । मलाई विश्वास छ पार्टीले अर्को उम्मेद्वार उठाउने थिएन । हाम्रो पार्टीमा त्यस्तो छलफल पनि भएको थियो । हामीले हाम्रो अभिभावक महिला नै खोजेका थियौं त्यो हुन सकेन । दोस्रो दर्जामा मात्रै महिलालाई विश्वास गर्ने परिपाटीको म विरोध गर्छु ।’

यस्तै, पन्तले कांग्रेससँग गठबन्धन रातारात टुटाएर गएको माओवादी नेतृत्वको नयाँ समीकरणले जनताको लागि केही गर्न नसक्ने बताइन् ।

‘अहिलेको सरकार ‘ओल्लो घरको नरे पल्लो घरमा सरे’ भन्छन् नि त्यहि हो। ओल्लो घरको नरे पल्लो घरमा सरेर के गर्न सक्छ ? केही सक्दैन् ।’ उनले थपिन, ‘के के गर्छु नेपाली जनताका लागि भनेर रातारात सरकार परिवर्तन गरियो ? हामी सरकारमा बस्न नपाएर भनेको होइन । कोही पनि सरकारमा जाँदा जनताप्रति जिम्मेवारी र प्रतिबद्धता हुन्छ । यो सरकारसँग के छ प्रतिबद्धता ? टाउको उही हो शरीर परिवर्तन गरेपनि ब्रेन त उही हो। यो सरकारबाट के परिवर्तन होला त ?’

मंगलबार साढे ११ बजेदेखि बानेश्वरस्थित संघीय संसदको राष्ट्रिय सभा बैठक जारी छ । बैठकमा उपाध्यक्ष उर्मिला अर्यालले अध्यक्ष निर्वाचन प्रकृया शुरु गरी पक्ष विपक्षबाट छलफल भैरहेको छ ।

अध्यक्षका लागि नयाँ पाँच दलीय गठबन्धनबाट नारायण प्रसाद दाहाल र कांग्रेसबाट युवराज शर्मा उम्मेदवार छन् ।