• २०८३ असार १७
  • 2026 July 01, Wednesday

श्रम क्षेत्रका समस्या सम्बोधन गर्न श्रममन्त्रीले बनाए कार्यदल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न कार्यदल गठन गरेका छन् ।

मन्त्रालयको जिम्मेवारी पाएलगत्तै उनले मन्त्रालयसँग सम्बन्धित समस्याहरूबारे अध्ययन गर्न र सुझावका लागि सिफारिस गर्न मन्त्रालयका प्रवक्तासमेत रहेका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख, सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका हुन् ।

कार्यदलमा मन्त्रालयका उपसचिव मेघनाथ रिमाल र मन्त्रालयकै शाखा अधिकृत प्रकाश पन्थी सदस्य रहेका छन् । समितिले अध्ययन गरेर प्रतिवेदन पेस गरेपछि ती निर्णय तथा विवादको समीक्षा गरेर निर्णय कार्यान्वयन गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री अर्यालले बताए । तत्कालिन गठबन्धन सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी आइसकेपछि वैदेशिक रोजगारी व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा विवाद देखिएको छ ।

पूर्व प्रस्थान अभिमुखीकरण तालिमको शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अङ्ग्रेजी भाषा आवश्यक हुने सम्बन्धी विषय, दक्षिण कोरियामा इपिएस प्रणालीबाट कामदार पठाइरहेको अवस्थाका बिच इ–सेभन भिसामासमेत कामदार पठाउने लगायतका विषयमा विवाद देखिएपछि २१ दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी मन्त्रालयले समिति गठन गरेको हो ।