• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते, यस्ताे छ स्थानीय निर्वाचन कार्यतालिका

काठमाडाैं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

कार्यक्रम अनुसार आगामी वैशाख ११ र १२ गते सम्बन्धित जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ ।

आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने मिति वैशाख १३ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म राखेकाे छ ।

वैशाख १५ गते अपरान्ह ५ बजेदेखि ६ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका तय गरिएकाे छ । त्यस्तै, आयोगले वैशाख १६ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको समयलाई उम्मेदवारको नाम फिर्ता लिने समय छुट्याएकाे छ ।

उम्मेदवारको मनोनयन फिर्ता भइसकेपछि बाँकी उम्मेदवारको अन्तिम नामावली वैशाख १६ गते ५ बजेदेखि ६ बजेसम्म प्रकाशित हुने भएका छन् । त्यसपछि आयोगले वैशाख १७ गते १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम बनाएको छ।

आयोगका अनुसार वैशाख ३० गते निर्वाचनका क्रममा मतदान सुरु हुनु ४८ घण्टाअघि वैशाख २७ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । वैशाख ३० गते देशभरका सबै स्थानीय तहहरुमा एकै चरणमा निर्वाचन हुँदैछ ।