
जापान । बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दशैंको अवसरमा टोकियोमा चैत्राष्टमी बाग्लुङे मेला २०२४ आयाेजना गर्न लागिएकाे छ ।
उक्त मेला अप्रिल १८ तारिख बिहीबार नाकानो जिरो हलमा आयाेजना गर्न लागिएकाे हाे ।
गण्डकी प्रदेशकै महत्वपूर्ण मेलाको रुपमा परिचित बागलुङ मेला बागलुङ जिल्लामा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको छ । बागलुङकै मेलाको झल्को दिने गरि ऐतिहासिक चैत्राष्टमी मेला पहिलोपटक जापानमा आयाेजना गर्न लागिएकाे बाग्लुङ समाज जापानका अध्यक्ष तथा कार्यक्रम संयोजक यमकान्त कँडेलले जानकारी दिए ।
ऐतिहासिक चैत्राष्टमी बाग्लुङे मेलामा नेपालबाट आमन्न्रित चर्चित ख्यातीप्राप्त कलाकारहरु बसन्त थापा, समिक्षा अधिकारी र तारा थापाको साथमा साँगितिक धमाका हुनेछ ।
याेसहित विभिन्न किसिमका झाँकी रिले दोहोरी गीतसहित मौलिक धौलागिरी भजन र बागलुङ्गे पञ्चेबाजाको पनि प्रस्तुती रहनेछ । कार्यक्रम नाकानो जिरो हलमा १ बजेदेखि सुरु हुने बिउकोट समाज जापानका अध्यक्ष दीपक कँडेलले बताए ।
चर्चित राष्ट्रिय कलाकारको साथमा हुनलागेको साँगितिक कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउन दुवै समाजका संरक्षक, सल्लाहकार जापानमा गठित जिल्ला भित्रका र अन्य समाजहरुसँग समन्वय र सहकार्य गर्दै कार्यक्रम गरिन लागेको बाग्लुङ समाजका महासचिव सचिन आचार्यले बताए ।
कार्यक्रमबाट संकलित रकममध्ये केही प्रतिशत बाग्लुङ जिल्लाको कुनै परोपकारी क्षेत्रमा खर्च गर्ने गरी कार्यक्रम गर्न लागेको बाग्लुङ समाज जापानका प्रवक्ता रामु खत्रीले जानकारी दिए । साथै, उनले जापानमा गठित विभिन्न संघसंस्था तथा प्रतिनिधिलगायत जापानबासी सम्पूर्णलाई आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्नका लागि अनुराेध पनि गरेका छन् ।