
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्याधिक विजय हासिल गर्न एमालेलाई कसैले पनि रोक्न नसक्ने दावी गरेका छन् ।
शनिबार काठमाडौंमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धनलाई जनताको आँगनमा पछारिदिने भन्दै निर्वाचनमा अत्याधिक बिजय हासिल गर्न एमालेलाई कसैले रोक्न नसक्ने बताएका हुन् ।
उनले भने, अब हुने स्थानीय तहको चुनावको नजिताले प्रादेशिक र संघीय चुनावको झलक दिने धारणा राखे । अव २० हजार भन्दा बढी जनप्रतिनिधि जिताउनुपर्ने र ४ भन्दा बढी पालिकामा एमालेले विजयी हासिल गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, अध्यक्ष ओलीले स्यालहरुको मोर्चा कसेर हातीको सिकार गर्न नसकिने भन्दै गठबन्धनको मनौवैज्ञानिक त्रास त्याग्न कार्यकर्तालाई निर्देशन दिए । पाँच दलीय गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) कमजोर भइरहेको जिकिर गरी उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अझै दल बन्न नसकेको टिप्पणी गरे ।
ओलीले अघिल्लो चुनावमा २३ सिटमा झरेको कांग्रेसलाई यस पटक १३ सिटमा झार्नुपर्ने बताए । कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि ओलीको भनाइ छ । उनले चुनावमा सत्ता गठबन्धनमा रहेका दल र तिनका नेता कार्यकर्ताले गडबड गर्न सक्ने भन्दै मतपेटिकामा विशेष ध्यान दिन कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।
आगामी स्थानीय चुनावमा देशव्यापी अभियानमा जाने भन्दै ओलीले गाउँगाउँमा खटिन कार्यकर्तालाई निर्देशन दिए ।