• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

समृद्ध मुलुक निर्माणका लागि बौद्धिक जगतले जागरण ल्याउनुपर्छ : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमाले सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले स्थानीय तहको निर्वाचनमा धेरै स्थानामा पार्टीले जितेमा राष्ट्रियसभामा आफ्ना प्रतिनिधि लान सकिने र देशको विकासको कामलाई स्थानीय तहबाट उठाएर जनताका चाहनालाई माथि लान सकिने बताए ।

‘सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मनोवैज्ञानिक त्रास छ भने हटाउन म साथीहरुलाई आग्रह गर्दछु । ज्येष्ठ नागरिक, युवा, गृहिणी, राष्ट्रसेवक सबैका पक्षमा हामीले सरकारमा हुँदा काम गरेका छौँ’, उनले भने, ‘ती सबैले एमालेलाई मत दिने भएपछि हामी पछाडि पर्ने कुनै सम्भावना छैन ।’ आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकिएको छ ।

उनले गत निर्वाचनमा पनि गठबन्धनलाई पराजित गरेर एमाले जस्केलाबाट नभई मूल ढोकाबाट सरकारको नेतृत्वमा पुगेको स्मरण गराउँदै पुनः एमालेले सत्तारोहण गर्ने दाबी गरे । अध्यक्ष ओलीले आजै मदन भण्डारी फाउन्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै समृद्ध मुलुक निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न बौद्धिक जगतले जागरण ल्याउने काम गर्नुपर्ने बताए ।