काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यही मंगलबार गर्ने जन प्रदर्शनमा घोषणा भएको निषेधित क्षेत्रको पालना नगर्ने बताएका छन् ।पार्टी कार्यालय धुम्बाराहीमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले निषेधित क्षेत्र घोषणा प्र्रजातन्त्रको भावना र संविधानविपरीत भन्दै राप्रपाले विरोध र उल्लंघन गर्ने बताए ।
उनले भने, ‘हामी त्यो निषेधित क्षेत्रहरु मान्दैनौं । अहिले जुन निषेधित क्षेत्र घोषणा गरेको छ त्यो प्रजातन्त्रको भावनाविपरीत र अहिलेकै संविधानको मर्मको पनि विपरीत छ । भेला भएर शान्तिपूर्ण आन्दोलन गर्न पाउने संविधानले दिएको जनताको अधिकार हो । विचार स्वतन्त्रता प्रदर्शन स्वतन्त्रतालाई निषेधित गर्ने कुराको राप्रपाले विरोध गर्छ । र, त्यसको उल्लंघन गर्छ ।’
राजादेखि माओवादीसम्म अब सबै राजनीतिक दल र शक्तिहरु अटाउने नवीन समझदारी गरी नयाँ व्यवस्था सम्झौतामा आउने उद्देश्यले प्रदर्शन गर्न लागेको उनले जिकिर गरे । प्रदर्शनले दलहरुमा परिवर्तन आएन भने आन्दोलनलाई बिभिन्न स्वरुपमा निरन्तर अगाडि बढाउने उनले बताए ।
उनले भने, ‘सबैले आफ्ना गल्ती कमजोरी महसुस गरेर अब राजादेखि माओवादीसम्म, सबै राजनीतिक दल र सबै शक्तिहरु अटाउने एउटा नवीन समझदारी गरेर देशलाई पहिलेको व्यवस्थामा पनि फर्काउने होइन, यहीँ पनि राखिराख्न सकिँदैन । पहिलेका र अहिलेका समेत राम्रो कुरा समेटेर नयाँ व्यवस्था सम्झौतामा जाऔं भन्ने हिसाबले दबाब सृजना गर्न २७ गते प्रदर्शन गर्न लागेको हो । यसले पनि उहाँहरुमा परिवर्तन आएन भने हामीले आन्दोलनलाई फेरि निरन्तर रुपमा विभिन्न स्वरुपमा अगाडि बढाउँछौ ।’
आन्दोलनमा ५० औं हजारको जनसहभागिता रहने उनको दाबी छ ।