
काठमाडाैं । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिका–३ मा निर्माण हुने श्री दिदिङ आधारभूत विद्यालयको विद्यालय भवनको सोमवार शिलान्यास गरिएको छ ।
विद्यालय भवनको शिलान्याश भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले गरेका छन् । शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइनेछ र सङ्खुवासभाको चिचिला गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।
कार्यक्रममा बोल्दै चिचिला गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । सङ्खुवासभाको चिचिला गाउँपालिकास्थित श्री दिदिङ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ ।
सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा २ वटा परियोजना सङ्खुवासभामा छन् ।
यसका साथै, भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा १३ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस सङ्खुवासभा जिल्लालाई उपलब्ध गराइएको छ ।