
काठमाडौं । अरुको नागरिकता दुरुपयोग गरि सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह पक्राउ परेको छ । सामाजिक सञ्जालहरु वार्टसप, फेसबुक, इन्स्टाग्राम आदी मार्फत रकम ठगी गर्ने एक जोडीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको छ ।
सामाजिक सञ्जालमा तपाईंको पार्सल, डलर लगायत बहुमूल्य सामान आएको छ उक्त सामान प्राप्त गर्न भन्सान चार्ज तिर्नुपर्ने भन्दै रकम असुल्ने गरेको पाइएको छ । विभिन्न बैंकमा जम्मा गर्नुपर्ने भन्दै पटकपटक एउटै व्यक्तीबाटपनि रकम मागेको ब्यूरोले बताएको छ । काठमाडौं र झापा प्रहरीको समन्वयनमा ठगी गर्ने तीन जनालाई झापाबाट पक्राउ गरिएको हो ।
झापाकी ३८ वर्षीय रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेल, इलामका ३४ वर्षका धनबहादुर वि.क र झापाका ३५ वर्षका सन्जुका श्रीमान निश्चल पोर्तेलले उक्त धन्दा चलाएको प्रहरीले जनाएको छ । विगत २ वर्षदेखि रश्मी विश्वकर्माको नागरिकता फेला पारि सन्जु पौडेलले आफ्नो फोटो उक्त नागरिकतामा टाँसी ठगी धन्दा चलाएकी थिइन । अन्र्तराष्ट्रिय विमानस्थलको सिनियर कुरियर अधिकृत हुँ भन्दै सन्जुले विभिन्न व्यक्तीहरुबाट ६० लाख ५५ हजार रकम ठगेकी थिइन ।
सोही नागरिकताबाट १६ वटा बैंकमा खाता खोलेको र अरु नागरिकतापनि दुरुपयोग गरेको पाइएको छ । सन्जु पौडेलका श्रीमान निश्चल पोर्तेलले समेत निशांत शर्माको नाममा भारतीय आधार कार्ड बनाएर ठगी कार्य गर्ने गरेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुबाट दुरुपयोग भएका ६ थान नागरिकता, १४ थान प्रयोग भएका एनसेलका सिमकार्ड, प्रयोग नभएका १२ थान एनसेलका सिमकार्ड, प्रयोग गरिएको भारतीय सिमकार्ड १ थान, विभिन्न बैंकको एटीएम ८ वटा, विभिन्न बैंकको चेकबुक ११ वटा, बैंक र सहकारीमा डिपोजिट गरेको कागज १८ थान, मोबाइल ६ थान र पहेलो धातुले बनेका विभिन्न गरगहनाहरु जफत गरेको छ ।