• २०८३ असार १६
  • 2026 June 30, Tuesday

राष्ट्रियसभा सदस्यमा डा.शाक्य र महालेखा परीक्षकमा राय नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्यमा डा.अन्जान शाक्यलाई मनोनित गरेका छन् ।राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा.शाक्यलाई मनोनित गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख)मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनित गर्ने व्यवस्था छ ।

त्यस्तै राष्ट्रपति पौडेलले बिहीबार संवैधानिक परिषद्को सिफारिसमा तोयम रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका छन् ।राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन ।