• २०८३ असार १६
  • 2026 June 30, Tuesday

‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको बताएका छन् ।चन्द्रागिरीमा आइतबार मस्र्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेसनको उद्घाटन गर्दै उनले ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको दाबी गरे ।

उनले भने, ‘आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको छ । पूर्णरुपमा विद्युतीकरण गर्नसक्ने आधार तयार हुनु एउटा महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो । अहिलेसम्म मुलुकका ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसकेको छ ।’

त्यस्तै उनले नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताए ।

गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित भएको उनको दाबी छ ।
उनले भने, ‘उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चिताका लागि अर्को महत्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु ।’

मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन निर्माण भएसँगै मस्र्याङ्दी नदी करिडोरमा निर्माण भएका र आगामी दिनमा निर्माण हुने आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन सहज भएको छ ।

यो आयोजनाको निर्माणसँगै देशको सबैभन्दा बढी विद्युत् माग हुने काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुने विश्वास लिइएको छ । देशको एकीकृत विद्युत् प्रणाली थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।