• २०८३ असार १६
  • 2026 June 30, Tuesday

इलाम-२ मा सुहाङको फराकिलो अग्रता, मतगणना आजै सक्ने तयारी

काठमाडौं । इलाम क्षेत्र नम्बर २–को उपनिर्वाचनको मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले ९००५ मत ल्याएर पहिलो स्थानमा अग्रता बनाइरहेका छन् ।

उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पछ्याइरहेका छन् । खड्काले अहिलेसम्म ६,३०२ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर २,७०३ छ । एमाले उम्मेदबार सुहाङले कांग्रेसका खड्कासँगको मतान्तर झन फराकिलो बढाउँदै गएका छन् । पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा छन् । उनले अहिलेसम्म ४,६३४ मत ल्याएका छन् ।

त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन् । उनले १,३८५ मत ल्याएका छन् । इलाम–२ मा अझै दुई तिहाई मत गन्न बाँकी छ । एक लाख १५ हजारभन्दा बढी मत भएको इलाम–२ मा ६९ हजार २ सय मत खसेको छ । यो कुल मतदाता संख्याको ६० प्रतिशत हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन स्थानबाट गर्ने तयारी गरेको छ । आइतबारदेखि जारी मतगणना कार्यलाई चाँडो सम्पन्न गर्न तीन स्थानमा मत गणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ ।

सोमबार बिहानसम्म दुई गाउँपालिकाको मात्र मतगणना सकिएको छ । अहिले माङ्सेबुङको गणना जारी छ । अझै तीन पालिकाको मतगणना बाँकी छ । तीन स्थानमा मतगणना गर्दा थप सहज हुने भएकाले गणना स्थल थप्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।