सेयर बजारमा ७.३१ अंकको गिरावट, कारोबार घट्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ७.३१ अंकले घट्दै १९९८.९६ विन्दुमा रह्यो । गत मंगलबार दोहोरो अंकले बढेको बजारमा साताको अन्तिम कारोबार दिन करेक्सन देखिएको छ ।

बजार बन्द हुनु आधा घण्टाअघि मात्रै परिसूचक ओह्रालो लागेको हो । ९४ लाख ९८ हजार २९८ कित्ता सेयर ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँमा किनबेच भएको छ ।

गत मंगलबार बजार परिसूचक २५.९३ अंकले बढ्दै २००६.२८ विन्दुमा पुग्दा साताकै सर्वाधिक ४ अर्ब ८० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

साताका पहिलो र दोस्रो दिन अस्वाभाविक रुपमा बढेको फाइनान्स उपसूचक मंगलबार भने १.१८ प्रतिशतले घटेको थियो । गत आइतबार ३.९८ प्रतिशतले बढेको फाइनान्स उपसमूह सोमबार एक्लै ४.१७ प्रतिशतले बढेको थियो । बिहीबार लघुवित्त उपसमूहको अवस्था त्यस्तै छ । ३.४५ प्रतिशतले अस्वाभाविक रुपमा बढेको छ ।

आज १३ मध्ये लघुवित्त र व्यापार बाहेकका सबै उपसमूह घटेका छन् । सर्वाधिक २.०३ प्रतिशतले घट्नेमा विकास बैंक उपसमूह छ । १६१ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ता नोक्सानमा रहे । ७८ कम्पनीको सेयरमूल्य बढेको छ भने ५ कम्पनीको स्थिर रह्यो ।

सर्वाधिक कारोबार हुनेमा कम्पनीको सूचीमा आइएमई लाइफ इन्स्योरेन्स पहिलो बनेको छ । उक्त बीमा कम्पनीको २८ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । पोखरा फाइनान्सको २१ करोड ७८ लाख, गोर्खाज फाइनान्सको १५ करोड ८० लाख, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १३ करोड १७ लाख, नेपाल फाइनान्सको सेयर १० करोड ५६ लाख रुपैयाँको सेयर किचबेच भएको छ ।

सेयरमूल्य बढेर सकारात्मक सर्किट लाग्नेमा तीन लघुवित्त परेका छन् । समता घरेलु, इन्फिनिटी र साधना लघुवित्तको सेयरमा अस्वाभाविक बढोत्तरी भएको हो । विजल लघुवित्तको सेयर पनि सर्किटस्तरमा बढेको छ ।

सेयरमूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका शीर्ष ५ कम्पनीमा पिपुल्स पावर, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपपेन्ट बैंक, हिमालयन हाइड्रोपावर छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१