
काठमाडौं । विश्वमै दुर्लभ मानिएको वन्यजन्तु रेडपाण्डा हेर्न र पर्यटक भुल्याउने माध्यममात्र भएको भनेर बुझ्नु गलत भएको संरक्षणमा लागेका अभियन्ताहरुले बताएका छन् । उनीहरुले रेडपाण्डा इकोसिस्टमसँग जोडिएकाले यसको संरक्षणमा जुट्नुपर्ने उनीहरुको भनाइ छ ।
रेडपाण्डा संरक्षण दूत समेत रहेका अभिनेता दयाहाङ राईले रेडपाण्डा एक पटक हेर्ने रहर सबैलाई हुने भएपनि यसलाई रमिताको माध्यम बनाएर संरक्षणमा ध्यान नदिए जोखिम हुने बताए ।रुबीभ्यालीमा पहिलो पटक रेडपाण्डालाई नजिकबाट देखेको बताएका राईले प्रकृति बाँच्न र इकोसिस्टम चल्नका लागि संरक्षण पनि सँगसँगै गर्नुपर्ने बताए । ‘स्थानीय तह र सरोकारवालाहरुको सोच रेडपाण्डा देखाएर पर्यटन विकास गर्नुपर्छ भन्ने मैंले पाएको छु । तर यसलाई रमिता हेर्ने साधनका रुपमा मात्र बुझ्दा गम्भीर भूल हुन्छ । संरक्षणमा पनि जुट्न मेरो अनुरोध छ ।’
रेडपाण्डा नेटकर्वका संरक्षण कार्यक्रम अधिकृत सोनाम टाँसी लामाले रेडपाण्डाले पर्यटकलाई अवश्य लोभ्याउँने भएपनि संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए । उनले रेडपाण्डा हेर्न जानका लागि आफूहरुले गाइडलाइन र आचार संहिता नै निर्माण गरेको बताए ।नेपालका करिब २४ जिल्लाका उच्च पहाडी क्षेत्रमा पाइने रेडपाण्डा संरक्षणका लागि आफूहरुले सन् २००७ देखि १३ जिल्लामा समूदायस्तरमा काम गरिरहेको लामाले जानकारी दिए । बासस्थान विनास, खण्डीकरण, चोरी शिकारीका कारण रेण्डपाण्डा थप लोप हुन नदिन स्थानीयस्तरमा सचेतनाका कार्यक्रमहरु जारी राखेको उनले बताए ।
‘आफूहरुले काम गरेका क्षेत्रमा विद्यालयस्तरमा, समुदायस्तरमा र सरकारसँग समन्वय गरेर संरक्षण गर्नुपर्छ भन्ने सचेतना गरिरहेका छौं । वासस्थान जोगाउन बृक्षारोपण, चोरी निकासी नियन्त्रणमा जागरण अभियान चलाएका छौं,’ उनले भने ।रेड पाण्डाको सहवास समय र सन्तान जन्माउने समयमा बासस्थानमा स्थानीयलाई जान नदिने, चरिचरण गर्न नदिने, कुकुर लिएर हिडडुल गर्न नजाने र वासस्थान क्षेत्रमा होहल्ला गर्न नहुने संरक्षणकर्ताहरुको भनाइ छ । समुन्द्र सतहबाट झण्डै ३ हजार ६ सय मिटर उचाईमा रेडपाण्डा बढी पाइन्छ ।