कांग्रेसका बहुसंख्यक सदस्य चुनावी तालमेलको पक्षमा, औपचारिक निर्णय मंगलबार

काठमाडाैं । नेपाली कांग्रेसका बहुसंख्यक केन्द्रीय सदस्यहरूले स्थानीय तहदेखि प्रतिनिधि सभा निर्वाचनसम्म चुनावी तालमेल गरेर जानुपर्ने बताएका छन् ।

काठमाडौंमा जारी नेपाली कांग्रेस केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा बोल्ने अधिकांश सदस्यले चुनावी तालमेल गर्नुपर्ने धारणा राखेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । मंगलवार दिउँसो ३ बजे बस्ने बैठकले यसबारे औपचारिक निर्णय लिने उनले बताए ।

महामन्त्री गगन थापा लगायत कतिपय सदस्यहरूले भने चुनावी तालमेल आवश्यक नरहेको धारणा राखेका छन् ।

प्रवक्ता डा. महतले मङ्गलबार दिउँसो पुनः बस्ने केन्द्रीय कार्य समिति बैठकले सदस्यका धारणाका आधारमा आवश्यक निर्णय गर्ने जानकारी दिए ।

फागुन २९ गतेदेखि शुरू भएको ‘घरघर जाउँ, कांग्रेस जिताऔं’ भन्ने अभियानको समीक्षा र पार्टीको यथार्थ स्थितिको मूल्यांकनको समीक्षा भएको महतले बताए ।

सोमबारको बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी तालमेल गरेर जानुपर्ने प्रस्ताव राखेका थिए ।

गत निर्वाचनमा आफूले समेत मुस्किलले जित हासिल पारेको स्मरण गरी देउवाले चुनाव जित्नको लागि तालमेल आवश्यक रहेको बताएका थिए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१