• २०८३ जेठ २२
  • 2026 June 05, Friday

लागुऔषध कारोबारको शंकामा फार्मेसीमा छापा, पाँच पक्राउ

काठमाडौं । लागुऔषध कारोबार भइरहेको सूचना पाएर खानतलासीमा पुगेको प्रहरीले काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ ।

लागुऔषधका रुपमा प्रयोग हुने औषधि फार्मेसी र एक युवकको डेराबाट उल्लेख्य परिमाणमा फेला परेपछि प्रहरीले शनिबार धरपकड गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगरको कविता फार्मेसीबाट ट्रामाडोल ट्याब्लेट ६५० पीस बरामद भएपछि सञ्चालक गोरखा पालुङटार–४ की २५ वर्षीया विनिता कुमाललाई पक्राउ गरिएको छ ।

यस्तै कोटेश्वरमा लागुऔषध कारोबार भइरहेको सूचना पाएर पुगेको प्रहरी टोलीले पश्चिम रुकुमको त्रिवेणी–३ का २६ वर्षीय दीपेन्द्र वली, भक्तपुर–४ का २४ वर्षीय रुकेश श्रेष्ठ, ललितपुरको मंगलबजार बस्ने सिन्धुलीका २३ वर्षीय राकेश खड्का र ग्वार्को बस्ने ओखलढुंगाको सुनकोशी–७ का २२ वर्षीय ध्रुव कटवाललाई पक्राउ गरेको छ ।

वलीको कोटेश्वर सहयोगीनगरस्थित डेराबाट ट्रामाडोल ट्याब्लेट ३८ हजार ९४ पीस बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि काबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताएका छन् ।