शान्तिको वाचापछि पनि रुसले आक्रमण जारी राखेको युक्रेनी दाबी, चेर्निगिभमा बमबारी

काठमाडाैं । युक्रेनी अधिकारीहरूले बुधबार रुसी सेनाले उत्तरी शहर चेर्निगिभमा बमबारी गरेको जनाएका छन् । मस्कोले यस क्षेत्रमा सैन्य गतिविधिलाई फिर्ता गरेको दाबी गरे पनि रातभर गोलाबारी गरेको युक्रेनको दाबी छ ।

क्षेत्रीय गभर्नर व्याचेस्लाभ चाउसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शत्रुले चेर्निगिभ क्षेत्रमा आफ्नो ‘गतिविधिमा कमी’ देखाए पनि हमलाहरू जारी राखेका छन् ।’

टर्कीमा भएको शान्ति वार्तापछि रुसले मङ्गलवार उत्तरी युक्रेनको किएभ र चेर्निगिभका क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई ‘ठूलो मात्रामा’ कटौती गर्ने बताएको थियो ।

रुसका उपरक्षामन्त्रीले एलेक्जेन्डर फोमिङले ‘आपसी विश्वास बढाउनका लागि’ सैन्य गतिविधि धेरै मात्रामा कटौती गर्न लागिएको बताएका थिए ।

युक्रेनका राष्ट्रपति भेलाेडिमिर जेलेन्सकीले वार्ताका प्रारम्भिक सङ्केतहरू सकारात्मक भएको बताएका छन् । तर रुसी गोलाबारी नरोकिएको उनकाे भनाइ छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१