
काठमाडौं । नायिका जसिता गुरुङले कान्तिपुर टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘इट्स माइ शो’मा आफ्नो चरित्रहत्या गरिएको भन्दै प्रेस काउन्सिलमा लिखित उजुरी गरेपछि काउन्सिलले कार्यक्रमकी सञ्चालक ओसिन सिटाैलालाई बोलाएको छ ।
आइतबार गुरुङले प्रतिनिधि पठाएर उजुरी दर्ता गराएकी थिइन् । गत असार ८ गते ओसिन सिटौलाले सञ्चालन गरेको कार्यक्रममा जसितालगायत थुप्रै कलाकारको व्यक्तिगत जीवनमा असर पुर्याउने गरी प्रश्नोत्तर गरिएको थियो ।
चौतर्फी रुपमा आलोचना भएपछि कार्यक्रम प्रस्तुतकर्ता र कान्तिपुर टेलिभिजनले कार्यक्रम हटाएका छैनन् । उनीहरुले कतै क्षमायाचना पनि गरेका छैनन् । जसिताले उक्त कार्यक्रमबाट आफू र आफ्नो परिवारलाई असर पुगेको भन्दै उजुरी दिएकी हुन् ।
उजुरीमा उक्त एपिसोडको भिडियो हटाउन तथा मिडिया हाउस र कार्यक्रम प्रस्तोतालाई कारबाही गर्न अनुरोध गरिएको छ । आफ्नो इज्जत र प्रतिष्ठामा आँच पुर्याएकोप्रति पूर्ण क्षतिपूर्तिको मागसमेत जसिताले गरेकी छन् ।