• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

ठूला दलबाट देशबन्छ भन्नु साढेको टाङ मुनी बाल्टी थाप्नु जस्तै हो : राजेन्द्र लिङ्देन

तनहुँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला दलबाट देशबन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साढेको टाङ मुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरेका छन् ।

स्थानीय तह निर्वाचनलाई लक्षित गरी राप्रपाले तनहुँको दमौलीस्थित खुल्ला मैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै लिङदेनले भने, ‘साँढेको टाङमुनी बाल्टी थापेर साढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा, कन्याउँदा, हैन यसलाई खाना पुगेन भनेर दाना थप्दा पनि दूध दिँदैन । ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु हो त्यस्तै हो ।’

उनले शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड कति पटक प्रधानमन्त्री भएमा देश बन्छ भनेर प्रश्न समेत गरे । ‘अब तिनै पार्टी, तिनै नेताबाट देश बन्छ भनेर तिनैलाई हाम्रो बाजेको पार्टी बाउको पार्टी मैले यति लेबि तिरेको भनेर उनैलाई भोट दिइराख्नु भनेको र यिनै पार्टीबाट देश बन्छ भनेर अपेक्षा राख्नु भनेको साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै हो’, उनले अगाडी थप्दै भने, ‘जबसम्म तिनै पार्टीलाई भोट हाल्नुहुन्छ तबसम्म देशले परिवर्तन र विकास प्राप्त गर्दैन ।’

उनले देश बिगारेर असफल राष्ट्रको मुखसम्म धकेल्नमा ठूला पार्टी र नेता जस्तै अर्को चिह्नमा हात लाग्दैन भनेर भोट दिने मतदाताहरू पनि दोषी भएको बताए ।

शक्ति राष्ट्र नेपालमा रणनीतिक रूपमा प्रतिस्पर्धा गरिरहेको लिङदेनले बताए । नेपाललाई रणनीतिक प्रतिस्पर्धा बनाइएको उनको भनाई छ । अगाडी थप्दै भने, ‘कुनै बेला हामीले युक्रेनको नियति व्यहोर्नपर्ने अवस्था आउने खतरा हाम्रो सामु देखिएको छ । उनीहरूको आलोकाँचो व्यवहारले हुने क्षति ठूला पार्टीले मात्र व्यहोर्नुपर्दैन । सिँगो देश र जनताले त्यसको क्षति व्यहोर्नुपर्नेछ ।’