भारतको ऋण सहयोगमा निर्माणाधीन परियोजनाका प्रगतिबारे छलफल

काठमाडाैं । नवौं भारत–नेपाल एलओसी समीक्षा बैठक काठमाडौंमा सम्पन्न भएको छ।

बैठकमा भारत सरकारको ऋण सहयोगमा नेपालमा निर्माण भइरहेका परियोजनाहरुमा भएका प्रगतिको समीक्षाका साथै परियोजना कार्यान्वयनको थप सुनिश्चितता र ‘लाइन अफ क्रोडिट’ (एलओसी) अन्तर्गका रकमको थप प्रभावकारी उपयोगबारे छलफल गरिएको भारतीय दूतावासले जनाएको छ।

बैठकमा भारतीय टोलीको नेतृत्व भारतीय विदेश मन्त्रालयका सह–सचिव (विकास साझेदारी प्रशासन) श्रीधरण मधुसूधननले गरेका थिए । बैठकमा भारतीय दूतावास र एक्जिम बैंकका अधिकारीहरुको सहभागिता थियो ।

त्यसैगरी नेपाली टोलीको नेतृत्व अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहकार्य समन्वय महाशाखाका सह–सचिव ईश्वरी प्रसाद अर्यालले गरेका थिए। नेपाली टोलीमा भारतको एलओसी अन्तर्गतका परियोजनाको कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीहरुको सहभागिता थियो ।

एलओसी समीक्षा बैठकको अघिल्लो दिन चैत १४ गते मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गत निर्माण भएका सबस्टेसनहरुको कास्की जिल्लाको लह चोकमा उद्घाटन भएको थियो। भारतको २५० मिलियन अमेरिकी डलर ऋण सहयोग रहेको यस परियोजना अन्तर्गत ४२ किमि लामो विद्युत प्रसारण लाइनको निर्माण भएको छ भने नयाँ मोदी, लह चोक र लेखनाथमा सबस्टेसनहरुको निर्माण भएका छन् ।

भारतको केपीटीएल लिमिटेड र एबीबीले यस परियोजनाको निर्माण गरिरहेका छन् । परियोजना अन्तर्गतको सबस्टेसन प्याकेजको निर्माण सम्पन्न भएको छ भने प्रसारण लाइनको निर्माण चाँडै सकिने जनाइएको छ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले सो परियोजनाको उद्घाटन गरेकी थिइन् ।

बैठकको भोलिपल्ट चैत १६ गते एक्जिम बैंकले एक कार्यशालाको आयोजना ग¥यो। कार्यशालामा सह–सचिव मधुसूधननको मन्तव्य पश्चात एलओसी परियोजनाका ठेकेदार र परियोजना कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीहरुबीच छलफल भयो।

३० विलियन अमेरिकी डलर भन्दा बढी भारत सरकारको ऋण सहयोग ६० भन्दा बढी साझेदार मुलुकहरुमा फैलिएको छ । २५० मिलियन अमेरिकी डलर, ५५० मिलियन अमेरिकी डलर, ७५० मिलियन अमेरिकी डलर सहित कूल १.६५ विलियन अमेरिकी डलर गरेर नेपालमा चारवटा एलओसी समाविष्ट छन् ।

यी ऋण सहयोगहरु नेपाल सरकारले प्राथमिकतामा राखेका पूर्वाधार विकास परियोजना र भूकम्पपछिको पूनर्निर्माण परियोजनाको कार्यान्वयनमा खर्च भएका छन् ।

४० भन्दा बढी सडक परियोजना, जलविद्युत, प्रसारण लाइन र सिंचाईका अन्य ९ परियोजना तथा आवास र पुनर्निर्माण परियोजनाका लागि मात्रै यी एलओसीले वित्तिय सहयोग प्रदान गरेका छन् । केही प्रतिष्ठित र ठूला परियोजनाहरु सहित धेरै परियोजनाहरु यस अगावै सम्पन्न भइसकेका छन् ।

कोशी करिडोर (२२० केभी), मोदी–लेखनाथ (१३२ केभी), सोलु करिडोर (१३२ केभी) र ढल्केबर–भित्तामोड (४०० केभी) जस्ता ठूला परियोजनाहरु जस्ता भारत सरकारको ऋण सहयोगमा निर्माण भएका विद्युत प्रसारण पूर्वाधारले विशेष महत्व पाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१