
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली प्रस्थान गरेका हुन् ।
त्यसअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले बिदाई गरेको थियो । प्रधानमन्त्रीलाई बिदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँणलगायत पनि विमानस्थल पुगेका थिए ।
यस्तो छ भारतमा देउवाकाे कार्यसूची
प्रधानमन्त्री देउवा शुक्रबार २:५० भारत पुग्नेछन् । उनी विमानस्थलबाट होटल आइटीसी मौर्या पुग्नेछन् । त्यहाँ भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
शनिबार १०:४० मिनेटमा उनी राजघाट पुग्नेछन् । राजघाटपछि उनी ११:१० बजे हैदरवाद हाउस पुग्नेछन् । त्यहाँ समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता हुने कार्यतालिका रहेको छ । सोही दिन १२:१५ बजे द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।
त्यसपछि उनी ४:३० बजे उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । आइतबार बिहान ९ बजे प्रधानमन्त्री देउवा वराणासी पुग्नेछन् । त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता हुने बताइएको छ ।
त्यसपछि उनी ४ बजे नयाँ दिल्ली फर्किनेछन् र लगत्तै ४:१५ मा स्वदेश फर्किने कार्यतालिका रहेको भारती विदेश मन्त्रालयले जनाएको छ।