कक्षा १२ मा ननग्रेडेड ल्याउने परिक्षार्थीको सङ्ख्या १ लाख ८७ हजार, एक सय २२ को नतिजा रद्द

काठमाडौं । शुक्रबार सार्वजनिक भएको कक्षा १२ को नतिजामा १ लाख ८७ हजार विद्यार्थीहरु ननग्रेडेड (एनजी) छन् भने कुल विद्यार्थीमध्ये एक सय २२ विद्यार्थीको नतिजा रद्द भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका नियमिततर्फका ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थीमध्ये २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी अर्थात् ५२.९१ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् ।

सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थी छन् । उक्त जीपएमा पास हुनेको संख्या ७८ हजार ७५ रहेको परीक्षा बोर्डले जनाएको छ ।

२.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ रहेको छ भने ३.२१ देखि ३.६० जीपीए प्राप्त गरेर ४६ हजार ८ सय ९३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

सबैभन्दा माथिल्लो ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ रहेको परीक्षा बोर्डले जनाएको छ । गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए ।

बोर्डका अनुसार परीक्षाको मर्यादा कायम नगरेका विद्यार्थीको परीक्षा रद्द हुन्छ । परीक्षा हलमा चिट चोर्ने, निरीक्षक र परीक्षामा संलग्न व्यक्तिहरुलाई अभद्र व्यवहार गर्ने जस्ता कृयाकलाप गर्ने विद्यार्थीको परीक्षा रद्द हुन्छ । रद्द हुनेको संख्या एकसय २२ छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१