• २०८३ जेठ २२
  • 2026 June 05, Friday

काभा महिला भलिबल : उपाधीका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधीका लागि आज भारत र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाल र भारतको फाइनल भिडन्त दशरथ रंगशाला कभर्डहलमा बुधबार साँझ ५ बजे सुरु हुनेछ ।
घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारतसँगको भिडन्त पक्का गरेको हो।

लिग चरणमा भएको इरानसँगको पराजयको बदला नेपालले सेमिफाइनलमा लिएको हो । लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो ।समूह चरणको नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । उक्त भेटको पहिलो सेट नेपालले २५/१८ ले जितेको थियो ।

खेलको दोस्रो सेट भारतले २५/१२ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट मा नेपालले भारतलाई २५/१७ ले पाखा लगाएको थियो। चौथो सेट १८/२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५/१३ ले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो ।

समूह चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल उपाधि उचाल्ने लक्ष्यका साथ फाइनल भिडन्तका लागि मैदान उत्रने छ ।