
काठमाडाैं । आरजु राणा देउवाले भारतप्रति नेपालीहरुको सद्भाव सदैव रहने बताएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग भारत भ्रमणमा गएकी राणाले एएनआईसँग कुरा गर्दै दुई देशबीच प्रगाढ सम्बन्ध रहेको बताएकी हुन् ।
नयाँ दिल्लीबाट बनारस आइपुगेका फस्ट लेडी आरजुले प्रधानमन्त्री देउवासँगै आइतबार विश्वनाथको दर्शन गरिन् । भगवान विश्वनाथसँग विश्व शान्तिको कामना गरेको उनले बताइन् । ‘विश्वनाथसँग के माग्नुभयो?’ एएनआई संवाददाताको प्रश्नमा उनले भनिन्, ‘हाम्रो देशको शान्ति, भारतको शान्ति, विश्वको शान्ति र सबैको स्वास्थ्यको लागि प्रार्थना गरेँ ।’
उनले आफू पहिलोपटक सन् १९९० मा बनारस आएको स्मरण गरिन्। सन् २०१७ मा दोस्रोपटक बनारस आएकी उनले पाँच वर्षपछि बनारस आएको बताइन् । ‘पहिलो र दोस्रो नितान्त पारिवारिक भ्रमण थियो,’ उनले भनिन् ।
उनले बनारसमा धेरै कुराको बदलाव आएको बताइन्। ‘पाँच वर्षपछि बनारस आउँदा धेरै बदलाव पाएँ । मलाई लाग्यो म अरु कुनै सहरमा आएकी छु । विश्वनाथ क्षेत्रमा त आकाश जमिनकै फरक पाएँ,’ उनले भनिन् ।
उनले गंगा झनै सफा देखिएको र सबैभन्दा राम्रो गंगाबाट विश्वनाथ, विश्वनाथमा गंगाको दृश्यले मनमोहक बनाउने बताइन् । उनले विश्वनाथ र पशुपतिनाथ मन्दिरको तुलनासमेत गरिन् । ‘जसरी पशुपति नाथलाई हाम्रा अग्रज राजाले निर्माण गरेका थिए । सायद विश्वनाथ पनि त्यही परिकल्पनामा बनाइएको हुनुपर्छ,’ उनले भनिन् ।
विश्वनाथमा आएर जीवन सफल भएको उनले बताइन् । ‘विश्वनाथमा आज म र मेरो श्रीमान पूजा गरेँ । म हिन्दूवादीको लागि यो जीवन सफल भएको मानेकी छु,’ उनले भनिन् ।
उनले राजनीतिक र प्रशासनिक क्षेत्र फरक भए पनि नेपाली र भारतीयको सभ्यता एउटै भएको बताइन् । ‘हामी एकै सभ्यताका हौं । हाम्रो सँस्कृति, धर्म र ग्रन्थ पनि मिल्छ। हाम्रो लवाइ खवाइ र पहिचान पनि उस्तै छ,’ उनले भनिन् ।
उनले नेपाली र भारतीयको साँस्कृतिक रुप पनि एउटै भएको बताइन्। विश्वनाथ र पशुपति मन्दिरको बारेमा पुरानमा पनि उल्लेख रहेको बताउँदै उनले भनिन्, ‘यो कुनै ४०-५० वर्षको इतिहासको कुरा होइन । पौराणिककालदेखि सम्बन्ध रहेको छ ।’
नेपालमा काशीलाई कसरी लिइन्छ ? भन्ने संवाददाताको प्रश्नमा उनले धार्मिक मान्यताको बारेमा बताइन् । उनले काशी आएर मृत्युवरण गरे स्वर्ग पुगिने मान्यता रहेको बताइन् । ‘नेपालमा के भनाइ छ भने यदि काशीमा कसैको मृत्यु भयो भने त्यो सिधै स्वर्ग पुगिन्छ,’ उनले भनिन् । तर अहिलेका मानिसहरु अलि बढी संसारिक मोहमा फसेको उनको बुझाइ छ ।
उनले प्रधानमन्त्रीकारुपमा आफ्नो श्रीमानलाई भारतले भव्य स्वागत गरेको बताइन् । त्यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई धन्यवादसमेत दिइन् । उनले भारतले नेपालप्रति सौहार्दपूर्ण माया देखाएको बताइन् । ‘हामी सानो देशका हौं । भारतमा एकदमै ठूलो देश हो । तर भारतले नेपालप्रति सौहार्दपूर्ण माया देखाएको छ,’ उनले भनिन् ।