काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जिल्लाबासीको निराशा हटाउने प्रतिवद्धता गरेका छन् ।
उनले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरु क्रमशः कार्यान्वयन गरिरहेको भन्दै रोजगारी सृजना गर्नका लागि स्थानीय स्रोत साधनको उपयोग बढाउनुपर्ने बताए ।
जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिकामा आयोजित कार्यक्रहरुमा सहभागी भएका मन्त्री भण्डारीले बैतडीमा रहेका सम्भावनाहरुलाई उजागर गरी त्यसको व्यवस्थापनमा लागिरहेको बताए ।
जिल्लास्थित विभिन्न खानी, खनिज, जडीबुटि प्रसोधन तथा व्यवस्थापनमा ध्यान केन्द्रीत गरेको पनि उनको भनाई छ ।
उनले फस्फोराइड खानी, फलाम खानी, सिलेट खानी आदिलाई व्यवस्थीत गरि बैतडीको सिलेट राजधानी पुर्याउने प्रतिवद्धता व्यक्त गर्दै सबै सरोकारवाला मिलेर यसलाई सहज बनाउनुपर्ने बताए । मन्त्री भण्डारीले आफ्नो आँखा अगाडिको रोजगारी चिन्न नसक्नु र त्यसको उपयोग गर्न नसक्नु स्वंयमको कमजोरी हुने बताए।
उनले भने, ‘हाम्रो सिरानीबाट चिहानसम्म पानी बगेको छ । तर सिचाइको अभावमा खेत बाँझो राखेका छौँ । ठाउँठाउँमा सडक पुगेपनि व्यवस्थीत नभएकाले हाम्रा उत्पादनले बजार पाउन मुस्कील छ । सडक सुबिधा भएका ठाउँमा समेत कृषि उपजहरु उत्पादन गरि विक्री गर्ने परिपाटी छैन्, जहाँ जे सम्भावना छ त्यसको उपयोग आफैले गर्नुपर्छ र सरकारी स्तरबाट आवश्यक योजनाको माग गर्नुपर्छ । सडक, सिंचाई, विद्युत, खानेपानी लगायतका पूर्वाधारहरु निर्माण गर्न सरकार लागिपरेको छ।’
मन्त्री भण्डारीले अल्लोको लोक्ता प्रसोधन स्थानीय स्तरमै गर्नुपर्ने र त्यसको पुर्वाधार खडा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसका साथै जडिबुटि संकलन, प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गर्ने र लघु उद्यम मार्फत रोजगारी श्रृजना गर्ने बताए। स्थानीय स्तरमा उपलब्ध स्रोत साधनलाई उपयोग गरी रोजगारी श्रृजना गर्नमा आफुले ध्यान केन्द्रीत गरेको मन्त्री भण्डारीको भनाई छ।
मन्त्री भण्डारीले हरेक पटक ओरालो लागेको अर्थतन्त्रलाई नेकपा(एमाले) नेतृत्वको सरकारले लयमा फर्काउने गरेकाले वर्तमान समयको आर्थिक संकुचन हटाउने प्रतिवद्धता व्यक्त गरे । बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सांसद समेत रहनुभएका मन्त्री भण्डारीले बैतडीलाई सिरमा राखेर कामगर्ने बताए ।
