कांग्रेस नेतृ आरजु राणाले गरिन् भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण

कैलाली । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक भूमिहीन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व संविधान सभा सदस्य डाक्टर आरजु राणा देउवाले धनगढी उपमहानगरपालिका ९ का राष्ट्रिय भूमि आयोगले पहिचान र प्रमाणीकरण गरेका २१ परिवार भुमिहिन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरेकी छिन् ।

जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गर्दै नेतृ राणाले नेपाली कांग्रेसले भूमिहीन परिवारलाई बसोबासका लागि जग्गा उपलब्ध गराउने उदघोष गरेको बताउँदै पहिलो चरणमा भूमिहीन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको बताइन् ।

उनले क्रमबद्ध रुपमा अन्य भूमिहिनहरुलाई समेत जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराउने बताइन् । जग्गाधनी दर्ता प्रमाणपत्र हातमा परेपछि भूमिहिन दलितहरु खुशी छन् । स्थानीय कालीदेवी कोलीले सपनामा समेत आफ्नो नाममा जग्गा हुने कुरा नसोचेको बताउँदै जग्गा पाएपछि निकै खुशी भएको बताइन् ।

त्यस्तै, हिरादेवी लुहारसमेत जग्गाधनी दर्ता प्रमाणपत्र पाउँदा निकै खुशी थिएन । जग्गाधनी दर्ता प्रमाणपत्र वितरण कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड लगायतको उपस्थिति रहेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१