कडा लकडाउनले आक्रोशित चिनियाँहरुले लुटे बाँड्न राखेको खानेकुरा

चीन । काेराेना संक्रमणका कारण चीनकाे सांघाईमा कडा लकडाउन गरिएकाे छ । शुन्य कोभिड नीतिअन्तर्गत त्यहाँ कडा प्रतिबन्धहरू लागू गरिएको छ । जसका कारण खाद्यान्न र औषधिको अभाव भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत शुक्रबार अबेर राति ठूलो संख्यामा मानिसहरु लकडाउनको आदेश तोडेर सडकमा उत्रिएर वितरण गर्न राखिएको खानाका बट्टाहरु लुटेका छन् ।

लकडाउनका कारण आवश्यकता अनुसारको खानेकुरा पाउन नसकेपछि उनीहरुले लुटपाट गरेका हुन् । सांघाईमा एउटा अपार्टमेन्टमा केवल दुई व्यक्तिमात्र खाना लिन जान पाउँछन् ।

चीनमा शुन्य कोभिड नीतिअन्तर्गत कडा कोरोना प्रोटोकल लागू गरिएको छ । त्यहाँ बिरामीलाई अस्पतालमा भर्ना गर्नुपर्छ । चीनमा संक्रमितहरु होम आइसोलेसन वा क्वारेन्टाइनमा बस्न निषेध गरिएको छ । साना बालबालिकालाई पनि अस्पताल भर्ना गर्नुपर्ने भएपछि अभिभावकहरु पनि आक्रोशित छन् ।

लकडाउनका कारण मानिसहरु घरबाट बाहिर निस्किनसमेत पाएका थिएनन् । २ करोड ६० लाख जनसङ्ख्या भएको सांघाईमा पछिल्लो २२ दिनदेखि लकडाउन जारी छ । पछिल्लाे समय यहाँ काेराेनाकाे ओमिक्राेन भेरियन्ट फैलिएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१