प्रत्यारोपण केन्द्रमा आन्दोलन : विवादित डा.श्रेष्ठलाई मन्त्रीले संरक्षण गरेको आरोप

कमठमाडौ। भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयवासीले विरोध प्रदर्शनलाई जारी राखेका छन् । डेढ महिनादेखि स्थानीय आन्दोलनमा छन् ।

बुधबार पनि स्थानीय प्रदर्शनमा उत्रिएका छन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ ।बुधबारको प्रदर्शनमा उनीहरुले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको चर्को विरोध गरेका छन् । मन्त्रीलाई भेटेर पटक पटक ज्ञापन पत्र बुझाएपनि मन्त्रीले नै भ्रष्टहरुलाई संरक्षण गरिरहेको बताए । केन्द्रमा रहेका बेथितिहरूका विषयमा मन्त्री पौडेललाई पटक पटक जानकारी गराएपनि विवादमा मुछिएका अस्पतालका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलाई संरक्षण गरिएकोमा स्थानीय अगुवा राजेन्द्र पुरीले आपत्ति प्रकट गरे ।

अस्पतालको सेवा सुविधा रोक्ने, आफूखुशी डाक्टरहरु वर्खास्त गर्ने साथै अवैधानिक रुपमा मानव अंग प्रत्यारोपण गर्नेलाई मन्त्रीले संरक्षण गरेकोमा आफूहरु अचम्मित परेको उनले बताए ।केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने, अस्पतालभित्र हुने सबै प्रकारका सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीको रोकिएको तबभत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।यसअघि पटक पटक मन्त्री पौडेललाई भक्तपुरवासीले मागसहितको पत्र बुझाएका थिए । त्यसमा लामो समय बितिसक्दा पनि सुनुवाइ नभएपछि उनीहरूले मन्त्रालयमै पुगेर पटक पटक ध्यानाकर्षण गराएका थिए । आन्दोलन कारीहरू अस्पतालका कार्यकारी निर्देशक डा.श्रेष्ठलाई नहटाए स्थानीयबासीले नै हटाउने चेतावनी दिएका थिए ।

कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका स्थानीयले माग सम्बोधन नभए जिल्ला प्रशासन कार्यालयदेखि स्वास्थ्य मन्त्रालयसम्म पुगेर घेराउका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।विगत लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमिततासम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भए पनि सुनुवाइ नभएको उनीहरूको आरोप छ ।आन्दोलन कारीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरूलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतको ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।तेस्रो कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका डा.श्रेष्ठको नियुक्ति, कार्यशैली र गतिविधिप्रति आन्दोलनकारी आक्रोशित छन् । ६० वर्ष उमेरहद नाघिसक्दा पनि मानव अंग प्रत्यारोपण विकास समिति(गठन)आदेश संशोधन गरी केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका डा.श्रेष्ठको कायैशैली र हठविरुद्ध स्थानीयले यसअघि पनि आन्दोलन गर्दै आएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१