सकारात्मक कदम चालेनौँ भने देश श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन : विष्णु पौडेल

काठमाडाैं । नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले सकारात्मक हस्तक्षेप नगर्ने हो भने देश श्रीलंकाको जस्तो आर्थिक संकटमा पुग्ने बताएका छन् ।

देशको अर्थ व्यवस्थाबारे एमालेद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले भने ‘सार्थक हस्तक्षेप गरेनौँ भने, समस्या समाधानका लागि सकारात्मक कदम चालेनौँ भने श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन ।’

उपाध्यक्ष पाैडेलले सरकारले बजेटविहीन अवस्थामा केही समय मुलुकलाई राखेको कारण अर्थतन्त्रमा संकट देखिएको दाबी पनि गरे ।

उनले भने, ‘वर्तमान सरकार अर्थात् शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहँदा कोभिड नियन्त्रणमा आइसकेको थियो । यो सरकारले सही नीति लिएर अघि बढेको भए, अर्थतन्त्र यो अवस्थामा आउने थिएन । हामीले ल्याएको लोकप्रिय बजेटलाई अस्वीकार गरियो । प्रतिस्थापन विधेयक ल्याउनुको कारण सरकारले अहिले पुष्टि गर्नसकेको छैन । जसकारणले यो अवस्थामा मुलुक पुगेको छ ।’

उनले तत्कालीन ओली सरकारको प्रतिरक्षा पनि गरे । उनले भने, ‘हामीले सार्वजनिक गरेको बजेट सबैले स्वागत गरेका थिए। बैंकमा तरलता अभाव थिएन । नेकपा एमालेले सरकार चलाउँदा एउटा सुदृढ अर्थतन्त्र थियो । त्यसको आधार हामीले तयार गरेका थियौँ ।’

त्यो बाटोमा अहिलेको सरकार जान नसकेको उनको आराेप छ । उनले भने ‘अहिले अत्यन्त नकारात्मक दृष्टिकोणले अर्थतन्त्र अघि बढेको छ । चालु घाटा जोखिममा पुगेको छ, हुण्डीको कारोबार बढेको छ। आयात अनियन्त्रित बढेको छ। पुँजीगत खर्च निराशाजनक छ ।’

पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको आराेप पनि लगाए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१