विवाद भएपछि माओवादीले हटायो कुलमानसहितको चुनावी पोस्टर

काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी चुनावी प्रचार सामग्रीमा प्रयोग भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा राखेको प्रचार सामग्रीमा कुलमानको पनि फोटो प्रयोग भएको थियो ।

कुलमानको फोटो प्रयोग भएकोमा आलोचना भएपछि प्रचण्डले आफ्नो सामाजिक सञ्जालमा राखेको प्रचार सामग्री हटाएका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि चुनावी प्रचार सामग्रीमा प्रयोग भएको आफ्नो फोटो हटाउन माओवादीलाई आग्रह गरेका थिए ।

प्रचण्डले राखेको प्रचार सामग्रीमा प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको थियो ।

‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो नि:शुल्क बिजुलीको’ शीर्षक दिएर राखिएको तस्बिरमा घिसिङको फोटो प्रयोग गरिएको थियो । तर अहिले त्यो पोष्ट हटाइएको छ र त्यसमा प्रचण्डको मात्र तस्बिर अंकित सामग्री राखिएको छ ।