
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार सर्वोच्च अदालले थुनामुक्त गर्न आदेश दिएसँगै प्रसाईं रिहा भएका हुन् ।
रिहा भएपछि पत्रकारसँग बाेल्दै उनले आफूले भुईँमान्छेकाे आवाज बाेलिरहेकाे र निरन्तर बाेलिरहने प्रतिबद्धता गरे । उनले आफू नगलेकाे पनि बताए ।
न्यायाधीशहरू नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले शुक्रबार प्रसाईंलाई रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।
प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए ।
प्रसाईं मंसिर ४ गते पक्राउ परेका थिए । उनलाई प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा पक्राउ गरेको थियो । सिआइबीले प्रसाईंमाथि संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको थियो ।
यसअघि गत मंसिर २७ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंसँग ४० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाएर रिहा हुनेबित्तिकै उनलाई सिआइबीले नियन्त्रणमा लिएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रसाईंमाथि भारतमा मानिस राखेर व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा अनुसन्धान गरेको थियो ।