
काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे हाे ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न रास्वपा सभापति लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते काठमाडौंको च:मतिस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।
सहकारीको बचत रकम अपचलन मुद्दामा बहस आजै सकिएको थियो । न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस चलेको थियो ।
लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको हो ।
गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको थियो । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
यस्तै, लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको थियो ।