पाकिस्तानमा पीटीआई र पीएमएल-एन सांसदबीच झडप : कपाल तानातान, मुक्का हानाहान

काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तको विधानसभामा शनिबार नयाँ मुख्यमन्त्री चयन गर्नुअघि हंगामा भएको छ । इमरान खानको पार्टी पीटीआई र शाहबाज सरिफको पार्टी पीएमएल-एनका विधायकलगायत अन्य दलका नेताहरुबीच झगडा भएको थियो । झगडाकाे क्रममा विधानसभाका उपसभामुख सरदार दोस्त मोहम्मद मजारीलाई थप्पड हानिएकाे थियाे ।

पञ्जाब विधान सभाको अधिवेशन बिहान साढे ११ बजे सुरु हुने भनिएकाे थियाे । समा टिभीका रिपाेर्टरले बताए अनुसार विधान सभा अधिवेशन अघि पीटीआई सदस्यहरूले संसदमा ‘लोटा’ लिएर आए र पार्टीबाट अलग भएका विधायकहरूलाई ‘लोटा, लोटा’ भनेर नारा लगाउन थाले । यसबाट पीएमएल–एनका नेताहरु आक्रोशित भए र दुई गुटबीच झडप भयो । झडपका क्रममा दुई पार्टीका सांसदबीच कपाल तानातान र मुक्का हानाहान भएकाे थियाे ।

पाकिस्तानमा ती नेताहरूलाई लोटा भनिन्छ, जो अवसरवादी हुन्छन् र आफ्नो फाइदा देखेर आफ्नो समर्थन वा पार्टी परिवर्तन गर्छन् । पञ्जाबको सत्ताका लागि दुई उम्मेदवारहरू बीच कडा प्रतिस्पर्धा छ । हम्जा शाहबाज पीएमएल-एन र उनीहरूको गठबन्धन (पीडीएम) बाट उम्मेदवार छन् । पीएमएल-क्यू नेता परवेज इलाहीलाई इमरान खानको पार्टी पीटीआईको समर्थन प्राप्त छ ।

यसअघि बुधबार लाहोर उच्च अदालतले हम्जा शाहबाजको समयअगावै निर्वाचन र उपसभामुखको शक्ति पुनर्स्थापना गर्न माग गर्ने याचिका खारेज गरेको थियो । उच्च अदालतले उपसभामुखलाई निर्वाचन १६ अप्रिलमा गराउन आदेश दिएको थियो ।

पाकिस्तानको संसदमा अविश्वासको प्रस्ताव पेश भएपछि पूर्व प्रधानमन्त्री इमरान खानले पञ्जाबका मुख्यमन्त्री उस्मान बुजदारको राजीनामा लिएका थिए । अप्रिल १ मा गभर्नरले राजीनामा दिएपछि पञ्जाबमा मुख्यमन्त्रीको कुर्सी खाली छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१