काठमाडौं । नेकपा माओवादीका सांसद माधव सापकोटाले मृतक प्रकृति लम्सालको न्यायको लािग तत्काल सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद थालनी गर्न माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, उच्चस्तरीय राजनीतिक संवाद यथासिघ्र थालनी गरेर समस्याको समाधान गर्न माग गरेका हुन् ।उनले भने,‘सरकारको तिव्र पहल कदमीको लागि माग गर्न चाहन्छु । र मृत प्रकृति लम्साल र उनका परवारलाई न्याय दिन सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद यथासिघ्र थालनी गरेर समस्याको समाधान गर्न जोडदार माग गर्छु ।
’त्यस्तै उनले, नेपाली छात्रा लम्सालको भारतमा भएको रहस्यपूर्ण मृत्युको विरोधमा नेपाली विद्यार्थीहरु उत्रिदा नेपालको कुटनीतिक सम्बन्ध राम्रो नहुँदा अपमानजनक व्यवहार भएकोमा आपत्ति जनाए । उनले भने,‘भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्यु भयो । त्यसपछि नेपाली विद्यार्थीहरुले न्यायको माग गरेर विरोध गर्नुभयो । त्यहाँ अपमानजनक काम गरियो अमानविय क्रियाकलाप गरियो र सिङ्गो नेपालमाथि धावा बोलियो । तर सरकारको कुटनीति असक्षमका कारण त्यहाँ असुरक्षित र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नुपरिरहेको छ ।’