• २०८३ असार ९
  • 2026 June 23, Tuesday

गौर राइस मिल क्षेत्रको जग्गा अधिग्रहण विषयमा मुख्यमन्त्री सिंहको ध्यानाकर्षण

काठमाडौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले रौतहटको गौर राइस मिल क्षेत्रको जग्गा अधिग्रहणको प्रक्रियालाई तिव्रता दिने प्रतिबद्धता जनाएका छन् ।

बुधवार मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री सिंहले गौर राइस मिल क्षेत्रको ठूलो भूभाग गुम्न लागेको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको जानकारी दिएका छन् । कानुनी जटिलता, स्रोत व्यवस्थापन र संरक्षणका ठोस प्रयास नहुँदा संकटमा परेको राइस मिलको संरक्षण गर्नुपर्नेमा मुख्यमन्त्री सिंहको जोड रहेको विज्ञप्तीमा उल्लेख रहेको छ ।

विज्ञप्तीमा प्रदेश सरकार स्तरबाट जग्गा अधिग्रहण गर्न सकिने भए त्यस विषयमा विद्यमान कानुनी प्रावधानबारे तत्काल विस्तृत अध्ययन गर्न मुख्यन्याधिवक्ता सुरेन्द्र महतोलाई निर्देशन दिइएको जनाइएको छ ।जुनसुकै उपाय अबलम्बन गरेर भएपनि गौरबासीको भावना तथा प्रतिष्ठासँग जोडिएको गौर राइस मिलको जग्गा अधिग्रहण गरिने दृढता व्यक्त गर्दै मुख्यमन्त्री सिंहले जग्गाको मुआब्जा दिने प्रयोजनले स्रोत सुनिश्चित गर्न प्रदेश सरकारले आवश्यक प्रक्रिया तत्काल थाल्ने प्रेस विज्ञप्तीमा उल्लेख रहेको छ ।मुख्यमन्त्री सिंहले मिलको जग्गा गौरवासीकै हुनुपर्ने भन्दै हतारमा कुनै पनि निर्णय कार्यान्वयन नगर्न गौर नगरपालिका र अन्य सम्वद्ध संस्थासंग आग्रह गरेको विज्ञप्तीमा जनाइएको छ ।