• २०८३ असार ९
  • 2026 June 23, Tuesday

मकवानपुरमा नयाँ सिडियो, नागरिकले महशुस गर्नेगरि सेवा दिने प्रतिवद्धता

काठमाडौ । मकवानपुर जिल्लामा पहिलो महिला प्रमुख जिल्ला अधिकारी(सिडिओ)स्कीम श्रेष्ठले जिल्ला प्रशासन मकवानपुरले नागरिकले महशुस गर्नेगरि सेवा उपलब्ध गराउने बताएकी छन् ।

गत फाल्गुन १५ देखि प्रमुख जिल्ला अधिकारी मकवानपुरको जिम्मेवारी सम्हालेकी श्रेष्ठले आज जिल्लाका सञ्चारकर्मीहरुसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुलाई सहि सुचना सम्प्रेषण गरी जिल्ला प्रशासनको काम कारबाहीमा सघाउनसमेत अनुरोध गरेकी हुन् ।

उनले भनिन्,‘हाम्रो ध्यान पुयाउन र हामीलाई जिम्मेवार बनाउन यहाँहरुको कलम चल्नेछ भन्ने हाम्रो अपेक्षा हो । सत प्रतिशत सहि सुचनामात्रै सम्प्रेषण गर्नुहोस् ।’प्रशासनका गतिविधिलाई खबरदारी गर्न र भएका उपलब्धिलाई सही सुचनाका माध्यमबाट जनतासमक्ष पुयाउन श्रेष्ठले आग्रह गरेकी छन् ।

कार्यक्रममा सञ्चारकर्मीहरुले लागुऔषध दुव्र्यसनी न्यूनीकरण, अवैध क्रसर उद्योग सञ्चालन, ट्राफिक नियमको उलङ्घन, खानी दोहन, यौनजन्य धन्दाको विकृति लगायतका विषयमा प्रजिअ श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।यस्तै यसअघिका सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल सहसचिवमा बढुवा भएर मन्त्रालय पदस्थापित भएपछि राजेन्द्र प्रसाद कँडेलले सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका छन् ।