अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा, १४ प्रहरी घाइते

सिन्धुली । बिहानैदेखि अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ । स्थानीय ३९ वर्षीय विजय मुक्तानको मृत्युका विषयलाई लिएर आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए ।

मङ्गलबार कमलामाई नगरपालिका–२ निवासी विजयलाई निबुवाटारमा प्रदेश ३–०१–०३६ प १४१९ नम्बरको बोलेरोले ठक्कर दिएको थियो । घाइते भएका विजयलाई सिन्धुली अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए ।

प्रहरीले मृतकका आफन्तलाई छलफलमा आउन आग्रह गरेकामा छलफलमा नआई बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ पीपलभञ्ज्याङमा राजमार्ग अवरुद्ध गरेपछि घटनास्थलमा गएको प्रहरी टोलीलाई स्थानीयले आक्रमण गरेको उनले बताए ।

स्थानीयको आक्रमणबाट १४ जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई प्रहरी अस्पताल काठमाडौंमा पठाइएको र ११ जना उपचारपछि घर पर्किएका छन् भने दुई जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

स्थानीयको ढुङ्गा, सिसाका बोतल प्रहारबाट वरिष्ठ प्रहरी हवल्दार विजयकुमार यादव, प्रहरी जवान जोसना श्रेष्ठ, लीला खत्री, कर्णबहादुर मुग्राती, घनश्याम चौधरी, रमेश लामा र गोपाल थारु घाइते भएका छन् ।

यस्तै, प्रहरी हबल्दार भोला राउत, निजामुदी मिह, प्रहरी जवान विमला श्रेष्ठ, सञ्जित श्रेष्ठ, भूपेन्द्र रावत, रामनारायण राउत र ईश्वरकुमार बास्तोला घाइते भएका छन् । घाइतेमध्ये जोसना श्रेष्ठको उपचारका लागि प्रहरी अस्पताल काठमाडौं पठाइएको र अरु १० जना डिस्चार्ज भएको प्रहरी उपरीक्षक कँडेलले जानकारी दिए ।

अस्पतालमा भूपेन्द्र रावत, रामनारायण राउत र ईश्वरकुमार बास्तोलाको उपचार भइरहेको छ । घाइतेको टाउको, कुम र खुट्टामा सिसाका बोतलले काटेको चोट लागेको छ । प्रहरीले आत्मरक्षाका लागि हवाई फायर गरेको थियो । प्रहरीको संयमताले घटनामा मानवीय क्षति भने हुन पाएन ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१