सिवाईसीद्वारा बाल बचतकर्ता जागरण एवं स्नेह मिलन कार्यक्रम सम्पन्न

बागलुङ । सीवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङद्वारा संस्थामा आवद्ध बाल बचतकर्ताहरूलाई लक्षित गर्दै आयोजित बाल बचतकर्ता जागरण तथा स्नेह मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

संस्थाले १६ औं स्थापना दिवस २०८१ को अवसरमा सञ्चालीत “जागौ, जगाऔं र बढाऔं” अभियान अन्तर्गत सोमबार बागलुङ बजारमा यो कार्यक्रम सञ्चालन गरेको हो ।

 संस्थामा आवद्ध बालबालिकालाई बचतको महत्व बुझाउने, सानैदेखि बचत गर्ने बानीको विकास गराउने, तथा प्रारम्भिक उमेरदेखि नै नेतृत्व क्षमताको अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सानै उमेरदेखि बचत गर्ने बानीले बालबालिकामा अनुशासन, प्रतिबद्धता र आत्मनिर्भरता जस्ता महत्वपूर्ण गुणको विकास हुने उल्लेख गरे । उनले यस्तो अभ्यासले भविष्यमा जिम्मेवार नागरिक निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै, संस्थाले आगामी दिनमा बालमैत्री कार्यक्रमहरूलाई अझ प्रभावकारी र परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सेतो गुराँस , बागलुङकी अध्यक्ष विना कार्कीले बाल मनोविज्ञान सम्बन्धी महत्वपूर्ण विषयमा सहजीकरण गरेका थिए । उनले बालबालिकाको मनोवैज्ञानिक विकाससँगै व्यवहारिक शिक्षाको महत्वबारे प्रकाश पारे ।

त्यस्तै, सिवाईसी नेपालका कार्यक्रम अधिकृत सुमन जि.सी.ले बाल वित्तीय साक्षरताको अवधारणामा प्रस्तुति दिँदै, बालबचतकर्तालाई भविष्यका जिम्मेवार नागरिकका रूपमा विकास गर्न आर्थिक शिक्षाको भूमिकाबारे चर्चा गरे ।

कार्यक्रमका क्रममा उपस्थित बालबालीकाहरुले आफ्ना प्रतिभाहरु, गित, कविता, नृत्यबाट प्रस्तुत गरका थिए । कार्यक्रमकै क्रममा सिवाईसी बाल क्लवको प्रारम्भीक गठन पनि गरिएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, सल्लाहाकार सिता शर्माको स्वागत र प्रमुख कार्यकारी अधिकृत नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१