आज पनि बजारबाट २० अर्ब रुपैयाँ संकलन गर्दै राष्ट्र बैंक

काठमाडौँ । वित्तीय प्रणालीमा रहेको अधिक तरलता घटाउन राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्थामा अत्यधिक ऋण दिने रकम (तरलता) भएकाले राष्ट्र बैंकले बुधवार पनि २० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो । २५ गते सोमबार मात्र राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ संकलन गरेको थियो ।

अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम तान्ने जनाएको छ । पछिल्ला केहि दिनदेखि राष्ट्र बैंक नियमित रूपमा बजारबाट पैसा संकलन गर्दै आएको छ ।

निक्षेप संकलनमा कम्तीमा १० करोड र अधिकतम ५ करोड रुपैयाँको अंश राखेर बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । यसका लागि ब्याजदरमा बोलकबोल गर्नुपर्नेछ र बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंक तथा वित्तीय संस्थाले बुधवार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन् । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । खरिद गरिएको निक्षेप सङ्कलन उपकरणलाई अन्य बैंक र वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१