प्रधानमन्त्री ओलीको उद्घोष- पाणिनि ऋषि अर्घाखाँचीमै जन्मिएका हुन्

अर्घाखाँची – प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक ऐतिहासिक उद्घोषणा गर्दै पाणिनि महर्षिको जन्मभूमि पाकिस्तानमा नभइ अर्घाखाँची भएको बताए। उनले अर्घाखाँचीलाई ध्यानभूमि, ज्ञानभूमि र देवभूमिको रूपमा परिभाषित गर्दै यहाँको महत्त्वलाई बृहत् रूपमा चिनाउने दृषटिकोण प्रस्तुत गरेका छन् ।

आज अर्घाखाँचीमा भएको ‘पाणिनि तपोभूमि सम्मेलन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्पष्ट पारे, “पाणिनिको जन्मभूमि अर्घाखाँची हो, अरू सबै भ्रमको कुरा मात्र हुन्। यहाँबाट नै विश्वव्यापी ज्ञानको सुरुवात भएको हो।” उनले अर्घाखाँचीलाई पवित्र, पूण्यपूर्ण र देवभूमि भएको बताउँदै यसलाई एक प्रमुख धार्मिक र सांस्कृतिक स्थलको रूपमा विकास गर्न सरकारको प्रतिवद्धता जनाए।

प्रधानमन्त्री ओलीले पाणिनिको योगदानलाई अत्यन्त महत्वपूर्ण मान्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणका ३९५९ सूत्रहरूको रचनाको उल्लेख गरे।
यी सूत्रहरू आजका आधुनिक प्रविधिहरू, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) को विकासमा पनि प्रयोग भइरहेको छ। “पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो र संगीत तथा लयको विकासले नयाँ आयाम पायो,” उनले भने।

प्रधानमन्त्रीले यस क्षेत्रको प्रचारप्रसारलाई महत्व दिनुपर्ने भन्दै पाणिनिको तप, साधना, योग र आयुर्वेदको केन्द्र बनेको अर्घाखाँचीलाई धार्मिक र पर्यटकीय स्थलको रूपमा विकास गर्ने सरकारको योजना बारे पनि कुरा गरे। उनले पाणिनिको जन्म पाकिस्तानमा भएको भनाइलाई भ्रम मात्र ठहराउँदै भने, “ऋषिहरू ध्यान र तपस्या गर्ने उपयुक्त स्थान खोज्थे, व्याकरण बनाउन सजिलो स्थानमा गएर होइन। पाणिनिको साधना यहीं भएको हो, जहाँ शिवका डमरुको ध्वनि सुनेर व्याकरणको रचना गरिएको थियो।”

प्रधानमन्त्री ओलीले अर्घाखाँचीलाई विश्वभरका श्रद्धालुहरूको ध्यान र अध्ययनको केन्द्र बनाउने लक्ष्य राखेर यसका प्रचारप्रसार र विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१