• २०८३ जेठ २२
  • 2026 June 05, Friday

‘अमेरिका जानुअघि सोच्नुहोस्’ भन्दै चीनले जारी गर्‍यो एड्भाइजरी

काठमाडौ ।  अमेरिकासँगको बढ्दो व्यापार युद्धको बीचमा, चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा नगर्न चेतावनी दिएको छ। चीनको संस्कृति र पर्यटन मन्त्रालयले एक एड्भाइजरी जारी गर्दै अमेरिकामा यात्रा गर्न चाहने नागरिकलाई सावधानीपूर्वक यात्रा गर्ने, जोखिमहरूको पूर्ण मूल्याङ्कन गर्ने र सोचविचार गरेर यात्रा गर्ने सल्लाह दिएको हो।

एड्भाइजरीमा चीन–अमेरिका बीचको व्यापारिक तनाव र अमेरिकाको घरेलु सुरक्षा अवस्थालाई कारणको रूपमा उल्लेख गरिएको छ।यसैबीच, चीनको शिक्षा मन्त्रालयले पनि छुट्टै चेतावनी जारी गर्दै अमेरिकामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सुरक्षा जोखिमको मूल्याङ्कन गर्न आग्रह गरेको छ।चीन र अमेरिकाबीच व्यापार युद्ध पछिल्लो समय अत्यन्तै तिव्र भएको छ।

दुवै देशले एक अर्काका सामानमा अतिरिक्त भन्सार महसुल लगाउने नीति अपनाएको छ। अमेरिकाले चिनियाँ सामानमाथि भन्सार महसुल बढाएपछि, चीनले पनि अमेरिकी सामानमाथि भन्सार महसुल बढाएर ८४ प्रतिशत पुर्‍याउने निर्णय गरेको थियो। यसको प्रतिकारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथि भन्सार महसुल १२५ प्रतिशतमा पुर्‍याउने घोषणा गरेका छन्।