
किभ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी बन्दरगाह सहर मारिओपोललाई मुक्त गरिएकाे बताएका छन् ।
उनले युक्रेनी सहरको स्टिल कारखानामा आक्रमण गर्नुको सट्टा घेराबन्दी गर्न रुसी सेनालाई आदेश दिएका छन् ।
‘युक्रेनी सेनाले नियन्त्रण कायम गर्न संघर्ष गरिरहेको मारिओपोलबाट विस्थापितहरू बोकेका चारवटा बस सहर छोडेका छन्’, युक्रेन सरकारले बिहीबार भनेको छ ।
चारवटा खाली बसहरू मानवीय करिडोरमार्फत सहर छोड्न सफल भएको युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सामाजिक सञ्जालमा भनेकी छिन् ।
पुटिनले मारिओपाेलमा अपरेशन सफल भएकाे भन्दै आफ्ना रक्षामन्त्रीलाई बधाइ पनि दिएका छन् ।
यसकारण महत्वपूर्ण छ मारिओपाेल
मारिओपाेल शहर रुसका लागि विभिन्न कारणले महत्त्वपूर्ण मानिएको छ । त्यसैले सुरुदेखि नै रुसी सेनाले उक्त बन्दरगाह शहरलाई आफ्नो रणनीतिक उद्देश्यसहित निसानामा राखेको थियाे ।
मारिओपाेलको भूमिबाट रुसले क्राइमिया र डोन्बाससँग जोड्ने बाटो पाउन सक्छ । मारिओपाेल एजोभ सागरको बन्दरगाह भएकाले युक्रेनको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पार्न सकिने रुसको आँकलन छ ।
मारिओपाेलमा रुसले युक्रेनलाई परास्त गरे दुवै पक्षमा त्यसको मनोवैज्ञानिक प्रभाव पर्ने देखिन्छ ।