ट्रम्पले चीनमाथि भन्सार शुल्क बढाएर १४५ प्रतिशत पुर्‍याए, जसको परिणामस्वरूप धेरै अमेरिकी कम्पनीका सेयर मूल्यमा गिरावट

काठमाडौं। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ।ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने जानकारी दिएको छ।

बुधबार, राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर, अमेरिकी प्रशासनले पहिलेको घोषणामा लागू भएको २० प्रतिशत भन्सार शुल्कलाई गणनामा समावेश नगरेको बताउँदै अब त्यसलाई पनि समावेश गर्ने निर्णय गरेको हो।यसअघि चीनले पनि अमेरिकाबाट आयात हुने सामानहरूमा ८४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको थियो।

बुधबार ट्रम्पले आफ्नो भन्सार शुल्क योजनामा परिवर्तन गर्दै, चीन बाहेकका सबै उच्च दरमा भन्सार शुल्क लगाइएका देशहरूसँग ९० दिनको लागि भन्सार शुल्क स्थगित गर्ने निर्णय गरेका थिए। तर ती सबै देशहरूमा १० प्रतिशतको आधारभूत भन्सार शुल्क भने लागू हुने छ।चीनमाथि १४५ प्रतिशत भन्सार शुल्क लगाउनुको अर्थ यति हो कि चीनमा उत्पादित १०० डलरको सामान अब अमेरिका पुग्दा २४५ डलर पर्नेछ। यसले अमेरिकामा चिनियाँ सामान महँगो बनाउनेछ र त्यसको बिक्री घट्ने सम्भावना छ। यसैबीच, चीनले पनि अमेरिकामाथि जवाफी ८४ प्रतिशत भन्सार शुल्क लगाएको छ।

चीनको प्रतिक्रिया: झुक्दैनौं, अन्तिमसम्म लड्नेछौं

भन्सार शुल्क युद्ध चर्किँदै जाँदा, चीनले बिहीबार प्रतिक्रिया दिँदै अमेरिका सामु ‘जबरजस्ती’ झुक्ने होइन, अन्तिमसम्म लड्ने बाटो रोज्ने बताएका छन्। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, “चीन उक्साहटबाट डराउँदैन, हामी पछि हट्दैनौं। अमेरिकी भन्सार शुल्क विवादसँगै सेयर बजार र कच्चा तेलको मूल्यमा गिरावट आएको छ। माओ निङले सामाजिक सञ्जालमा विभिन्न पोस्टहरू सेयर गरेकी थिइन्। तीमध्ये एक पोस्टमा पूर्व चिनियाँ नेता माओत्से तुङको १९५३ को एक भिडियो पनि समावेश गरिएको थियो, जहाँ उनले भनेका थिए, “हामी चिनियाँ हौं। हामी उक्साहटबाट डराउँदैनौं। हामी कहिल्यै पछि हट्दैनौं।

यो भिडियो कोरियाली युद्धको समयमा खिचिएको हो, जब अमेरिका र चीन अप्रत्यक्ष रूपमा आमनेसामने थिए। माओले भनेका थिए, “यो युद्ध कति लामो चल्छ भन्ने कुरा हामीले तय गर्न सक्दैनौं। त्यो राष्ट्रपति ट्रुम्यान, आइजनहावर, वा नयाँ राष्ट्रपति कुन हुन्छ भन्नेमा भर पर्छ। चाहे यो युद्ध जतिसुकै लामो किन नहोस्, हामी कहिल्यै झुक्दैनौं। हामी पूर्ण विजय नहुन्जेल लडिरहनेछौं।”माओ निङले अर्को पोस्टमा एक चित्र पनि सेयर गरेकी थिइन्, जसमा मूल्य महँगो भए पनि अमेरिकीहरूले चिनियाँ सामान किनिरहेका देखाइएको थियो।

अमेरिकी सेयर बजारमा गिरावट

अमेरिकी भन्सार शुल्क विवादसँगै सेयर बजारमा गिरावट आएको छ। अमेरिकी सरकारी बन्ड बजारमा पुनः बिक्री सुरु भएको छ। शेयर बजारको नास्ड्याक कम्पोजिट इन्डेक्समा करिब ७ प्रतिशतको गिरावट आएको छ। एप्पल, एनभिडिया लगायतका थुप्रै कम्पनीका सेयरहरू पनि घटेका छन्।

तेलको मूल्यमा पनि गिरावट देखिएको छ। करिब ४ प्रतिशतको गिरावटपछि कच्चा तेलको मूल्य ६३ डलर प्रति ब्यारेलभन्दा तल झरेको छ।ट्रम्पले पहिलोपटक फेब्रुअरी १ मा चिनियाँ सामानमा १० प्रतिशत भन्सार शुल्क लगाएका थिए, जुन मार्च ३ मा २० प्रतिशत, अप्रिल २ मा ५४ प्रतिशत र अप्रिल ९ मा १०४ प्रतिशत पुर्‍याइएको थियो। अन्ततः अप्रिल १० मा यसलाई बढाएर १४५ प्रतिशत बनाइएको हो।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१