• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

दार्चुलाका शिक्षकहरूले मासिक रूपमा तलब र भत्ता प्राप्त

काठमाडौ। दार्चुलाको मालिकार्जुन गाउँपालिकाले अब शिक्षक र विद्यालय कर्मचारीलाई मासिक रूपमा तलब र भत्ता प्रदान गर्न थालेको छ। माघ महिनादेखि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई विद्युतीय फन्ड ट्रान्सफर (EFT) प्रणालीमार्फत तलब वितरण सुरु गरिएको हो।

गाउँपालिका अध्यक्ष हीरासिंह धामीका अनुसार, सरकार र गाउँपालिकाको नीति तथा कार्यक्रमसँगै शिक्षा मन्त्रालयले मंसिर १७ गते पठाएको मन्त्रीस्तरीय निर्णयका आधारमा शिक्षकहरूको खातामा मासिक तलब जम्मा गरिने व्यवस्था गरिएको हो।

यसअघि त्रैमासिक रूपमा तलब तथा भत्ता वितरण हुँदै आएको थियो। अबदेखि अन्य निजामती कर्मचारीझैं शिक्षकहरूले पनि मासिक रूपमा तलब र भत्ता पाउने व्यवस्था लागू गरिएको गाउँपालिकाले जनाएको छ। मालिकार्जुन गाउँपालिकामा रहेका ३८ वटा सामुदायिक विद्यालयमा ३३२ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।