• २०८३ जेठ २२
  • 2026 June 05, Friday

ट्रम्पले मोबाइल, कम्प्युटर र अन्य इलेक्ट्रोनिक सामानमा लगाइने शुल्क हटाए

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक सामग्रीमा लगाइएको शुल्क हटाउने घोषणा गरेका छन्।केही दिन अघि मात्रै अमेरिका आयात हुने वस्तुहरूमाथि पछिल्ला दशककै उच्च शुल्क लगाउने निर्णय सार्वजनिक गरेसँगै ट्रम्पको यो नयाँ घोषणाले व्यापार क्षेत्रलाई आश्चर्यचकित पारेको छ।

अमेरिकी कस्टम एन्ड बोर्डर प्रोटेक्शन (CBP) ले जारी गरेको सूचनामा चीनबाट आयात हुने स्मार्टफोन, तिनका पार्टपुर्जा र अन्य इलेक्ट्रोनिक उपकरणहरूमा अब शुल्क नलाग्ने स्पष्ट गरिएको छ।यसअघि राष्ट्रपति ट्रम्पले चीनबाट आउने सामानमा १४५ प्रतिशतसम्म शुल्क लगाउने चेतावनी दिएका थिए, जसका कारण अमेरिका र चीनबीच व्यापार युद्ध चर्किने आशंका गरिएको थियो। तर, नयाँ निर्णयसँगै सेमिकण्डक्टर, सोलार ब्याट्री, टिभी डिस्प्ले, फ्ल्यास ड्राइभ, मेमोरी कार्ड लगायतका उपकरणमा पनि शुल्क छुट दिइने बीबीसीले जनाएको छ।

यीमध्ये धेरैजसो सामानहरू चीनमै उत्पादन हुने भएकाले अमेरिकामा तिनको मूल्यमा असर पर्ने अपेक्षा गरिएको थियो। यदि शुल्क वृद्धिको योजना लागू भएको भए, चीनबाट अमेरिका पुग्ने इलेक्ट्रोनिक उपकरणहरू झन् महँगा हुने थिए।विशेषगरी एप्पल कम्पनीका लागि ट्रम्पको निर्णय राहतपूर्ण भएको बताइएको छ। किनभने प्रस्तावित १४५ प्रतिशत शुल्क लागू भएको अवस्थामा, १ हजार डलर मूल्य पर्ने आइफोनमा मात्र करिब ७ सय डलर अतिरिक्त कर लाग्ने थियो। मिडिया रिपोर्ट अनुसार एप्पलका करिब ९० प्रतिशत आइफोन चीनमै निर्माण हुने गर्छन्।