आफ्नो समुदायका व्यक्तिहरूको रिहाइको माग गर्दै वीरगन्जमा हिन्दुवादी संगठनले विरोध प्रदर्शन

काठमाडौं।  आफ्ना समुदायका सदस्यहरूको रिहाइको माग गर्दै हिन्दुवादी संगठनहरूले बुधबार बिहानदेखि वीरगन्जमा प्रदर्शन सुरु गरेका छन्। प्रहरीले धार्मिक सद्भाव विथोलेको आरोपमा केही व्यक्तिहरूलाई पक्राउ गरेपछि हिन्दुवादी समूहहरू आन्दोलित भएका हुन्।

प्रदर्शनकारीहरूले परवानीपुर, प्रतिमा चौक, नेशनल ट्रेडिङलगायतका क्षेत्रमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। बिहानैदेखि सुरु भएको प्रदर्शनका कारण बजार क्षेत्रमा आंशिक प्रभाव परेको छ भने यातायात र पसल सञ्चालनमा समेत अवरोध भएको छ।पर्सा प्रहरीले हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच भएको विवादपछि सीसीटीभी फुटेज, ड्रोन र सामाजिक सञ्जालमा आएका भिडियोको आधारमा दुबै पक्षका २/२ जना गरी चार जनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा शेष खुर्सेद आलम, सलाउदिन मियाँ ठकुराइ, रवि सर्राफ र बलजित सिंह रहेका छन्।यसै घटनालाई लिएर हिन्दुवादी संगठनहरूले आफ्ना समुदायका व्यक्तिहरूको रिहाइको माग गर्दै मंगलबार साँझदेखि प्रदर्शन सुरु गरेका हुन्। उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय, पर्साले बुधवार बिहान ११ बजे छलफलका लागि प्रदर्शनकारी प्रतिनिधिहरूलाई बोलाएको छ।जिल्ला अधिकारी गणेश अर्यालका अनुसार सबै पक्षसँग समन्वय गरी समाधान खोज्ने उद्देश्यले छलफलको पहल गरिएको हो। गत चैत ३० गते हनुमान जयन्तीको शोभायात्राका क्रममा भएको विवादले हाल वीरगन्जमा तनावपूर्ण स्थिति सिर्जना गरेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१