• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट न्यायाधीश फुयालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा तोकिएको छ।

रविको तर्फबाट उनकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा उक्त रिट दायर गरेकी थिइन्। सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

तर, सो आदेशविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवलमा पुनरावेदन गरिएपछि, उच्चले चैत २२ गते जिल्ला अदालतको आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।उक्त आदेशपछि लामिछानेका तर्फबाट ‘थुनुवा दफा ७३’ अन्तर्गत पहिले नै सर्वोच्चमा निवेदन दायर गरिएको थियो। उक्त निवेदनमा सर्वोच्चले सरकारसँग कैफियत प्रतिवेदन माग गर्ने आदेश पनि गरिसकेको छ।