• २०८३ असार ८
  • 2026 June 22, Monday

पचरौता नगरपालिका : पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन नगरी आर्थिक अनियमितता गरेको उजुरीका आधारमा गरिएको अनुसन्धानमा यादव र अन्सारीले भ्रष्टाचार गरेको प्रमाण भेटिएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

आव २०७७/७८ मा सञ्चालित ठेक्काहरू (ठेक्का नं. ०२/२०७७/७८ र ०३/२०७७/७८) का लागि बोलपत्र आह्वान गर्दा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि प्रभाव दैनिकमा एक प्रति मात्र प्रकाशित गरिएको थियो। उक्त प्रकाशन केबल अभिलेखका लागि गरिएको देखिएको छ।

केएस मल्टिपर्पोज प्रालिका अध्यक्ष कमलकुमार उपाध्यायको मिलेमतोमा सो प्रक्रिया अपनाइएको र झुट्टा विवरणका आधारमा ३ लाख ५२ हजार ५६० रुपैयाँको भुक्तानी गरिएको पुष्टि भएको अख्तियारको दाबी छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) अनुसारको कसुर ठहर गर्दै यादव, अन्सारी र उपाध्याय तीनै जनाविरुद्ध सोही रकम बराबरको बिगो कायम गरी आरोपपत्र पेश गरेको हो।