• २०८३ असार ८
  • 2026 June 22, Monday

शिक्षकहरूलाई प्रचण्डको अपिल- पटकपटक धोका भएको छ, आन्दोलन नरोक्नू

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूलाई धैर्यपूर्वक आन्दोलनलाई निरन्तरता दिन अपिल गरेका छन्।

पार्टीको ७७ औँ स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकहरूको आन्दोलनप्रति समर्थन जनाउँदै सरकारलाई जिम्मेवार बन्न चेतावनी दिएका हुन्।”शिक्षक साथीहरूलाई धैर्यपूर्वक आन्दोलनलाई निरन्तरता दिन अपिल गर्न चाहन्छु,” प्रचण्डले भने, “पटक-पटक आन्दोलन गर्नुभएको छ, सम्झौता गर्नुभएको छ, तर पटक-पटक धोका पनि भएको छ। अब फेरि त्यस्तो स्थिति नआओस् भन्ने जिम्मेवारी हामी सबैको हो।”

प्रचण्डले हालै एमाले नेतृ एवं शिक्षामन्त्री विद्या भट्टराईको राजीनामालाई सरकारले आन्दोलन सम्बोधन गर्नेतर्फ चासो नदिएको प्रमाणको रूपमा व्याख्या गरे।”शिक्षामन्त्रीको राजीनामाले सरकारको गैरजिम्मेवारीपन झल्किएको छ। यस्तो सरकार आफ्नै बोझमा दबिएर ढल्नेछ,” उनले भने, “हामी चाहन्छौं कि सरकारले अझै पनि बुद्धि पुर्‍याओस्।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले शिक्षकहरूले राखेका मागहरू नयाँ नभएको भन्दै अघिल्लो सहमतिको कार्यान्वयन मात्र मागिएको स्पष्ट पारे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा नकारात्मक भूमिका खेलेको आरोपसमेत लगाए।”शिक्षकहरूले उठाएका माग सरकारसँग पहिले गरिएका सहमतिको कार्यान्वयन मात्रै हो,” प्रचण्डले थपे, “तर प्रधानमन्त्रीको नकारात्मक दृष्टिकोणका कारण समस्या जटिल बन्दै गएको छ।”