काठमाडौँ। नेपाली कांग्रेसले भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि भएको आतंकवादी आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त घटनाको कडा निन्दा गरेको छ।
आक्रमणमा एक नेपाली नागरिकसहित कम्तीमा २६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने दर्जनौँ घाइते भएका छन्।कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आतंककारी हिंसाको कडा भर्त्सना गरेका छन्। उनले भनेका छन्, “विश्वको जुनसुकै कुनामा मानवता विरुद्ध हुने यस्ता आतंककारी घटनाको नेपाली कांग्रेस सदैव घोर निन्दा र भर्त्सना गर्दछ।”
घटनाबाट शोकसन्तप्त भारत सरकार र जनताप्रति सहानुभूति प्रकट गर्दै खड्काले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।साथै, खड्काले आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेको शव तत्काल नेपाल ल्याई परिवारजनलाई बुझाउने व्यवस्था गर्न र मृतक परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग कूटनीतिक तहबाट तुरुन्त पहल गर्न आग्रह गरेका छन्।